सरकार विधिको शासनभन्दा बाहिर गए प्रतिवाद गर्छौँ : गुरु बराल

२०८२ चैत्र २३, सोमबार

काठमाडौँ : नेकपा एमालेका सांसद गुरु बरालले सरकार विधिको शासनभन्दा बाहिर गए आफूहरू प्रतिवाद गर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा आफ्नो पार्टीले आवाज उठाउने बताए।

पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा आज सदन अवरोध हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘संसदभित्रको कार्यसूचीमा निर्धारित विषयहरू स्वतः हाउसको विषय प्रवेशपछि नै आउनेछ। तर हामी देशमा संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा आज प्रतिनिधिसभामार्फत हामीले आवाज उठाउनेछौँ र देश विधिको शासन हामी माग्छौँ।’

विधिको शासनभित्र सबै कुरा कानुनसम्मत हुनुपर्ने बताए।

उनले थपे, ‘कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौँ, बरु त्यसलाई प्रबलीकरण गर्ने काममा हामी लाग्छौँ। तर जहाँ कानुनको उल्लङ्घन छ, जहाँ विधिको शासनमाथि प्रश्न उठ्छ, त्यो गम्भीर विषय छ र हामी त्यस विषयमा आवाज बुलन्द गर्नेछौँ।’

सरकारलाई विधिसम्मत ढङ्गले संविधानले प्रदत्त गरेका नागरिकहरूका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकारहरू सही रूपले प्रयोग गर्नुपर्ने बताए।

उनले भने, ‘सरकार संविधान र कानूनभन्दा बाहिर नजाओस्। विघ्नबाधा सरकारले ल्याए हामी प्रतिवाद गर्नेछौँ। सरकार सत्तापक्षको हुनेछ र संसद् प्रतिपक्षको हुनेछ। यही गृहकार्यभित्र आजको सर्वदलीय बैठकमा सभामुखको ध्यानाकर्षण गराएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार