ओली-लेखकको मुद्दामा प्रहरीले सरकारी वकिलको राय माग्यो

२०८२ चैत्र २५, बुधबार

काठमाडौँ : सर्वोच्च अदालतको आदेशअनुसार न्यायिक हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्ने कि मुद्दा चलाउने भन्ने विषयमा प्रहरीले सरकारी वकिलसँग जवाफ मागेको छ ।

गत आइतबार (चैत २२) सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पछिल्लो पटक थपिएको म्याद सकिएपछि रिहासतमुक्त गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासको परमादेशमा उल्लेख छ, ‘तेस्रो पटक ५ (पाँच) दिनको म्याद थप अनुमति प्रदान गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट मिति २०८२।१२।२२ मा भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ ।’

सो आदेशअनुसार प्रहरीले ओली र लेखकलाई रिहा गर्न कि मुद्दा चलाउने भन्ने विषयमा लिखित राय लिन सरकारी वकिलको कार्यालयमा पत्र दर्ता गराएको छ । पछिल्लो पटक थपिएको म्याद बिहीबार सकिँदै छ ।

सर्वोच्च अदालतले पछिल्लो पटक थपिएको म्यादभित्रै मुद्दा पेस गर्न नसकिने भए मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम उनीहरुलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।

जसअनुसार जिल्ला प्रहरी परिसरले यसबारे जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंसँग राय माग्दै पत्र लेखेको हो ।सरकारी वकिलको कार्यालयले दिने लिखित आदेशअनुसार ओली र लेखकलाई हाजिरी जमानीमा छाड्ने कि मुद्दा पेश गर्नमध्ये एउटा निर्णयमा पुग्ने तयारीमा प्रहरी बसेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार