प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

२०८२ चैत्र ३०, सोमबार

काठमाडौं : प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ । बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गरिएको हो ।

कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार चार हजार १०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो । बर्डफ्लु रोग नियन्त्रण समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामा संयोजकत्वको बैठकले बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो ।

अनुमतिबिना प्रतिबन्धित क्षेत्रबाट ल्याइएका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख पोख्रेलले बताए । मोरङको बुढीगङ्गास्थित भिजु पोल्ट्री फर्म प्रालिबाट ल्याइएका तीन लाख रुपैयाँ बढीको चल्ला नष्ट गरिएको उनको भनाइ छ । रोग सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो ।

सम्बन्धित निकायले अवैध रूपमा पशुपन्छी ओसारपसार नगर्न चेतावनी दिँदै नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार