इरानी पानीजहाज अमेरिकी सेनाको कब्जामा, युद्धविराम संकटमा

२०८३ बैशाख ७, सोमबार

काठमाडौं : अमेरिकी सेनाले इरानी पानीजहाजलाई कब्जामा लिएपछि फेरि अमेरिका र इरानविच तनाव सुरु भएको छ ।

अमेरिकाले लगाएको नाकाबन्दी उल्लंघन गर्न खोज्ने उक्त पानीजहाजलाई अमेरिकी सेनाले गल्फ अफ ओमाननजिक गोली प्रहार गरी आफ्नो कब्जामा लिएको बताएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले इरानी झन्डावाल जहाज टुस्कालाई इरनी बन्दरगाहतर्फ अगाडि बढ्दै गर्दा नियन्त्रणमा लिएको बताएको छ । ‘टुस्का जहाजका चालकदलले पटकपटक दिइएको चेतावनी पालना नगरेपछि ६ घण्टाको अवधिभित्र अमेरिकी विध्वंशक जहाजले उसको इन्जिन रुम खाली गर्न निर्देशन दियो,’ अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी तोड्न खोजेको जहाजलाई नियन्त्रणमा लिइएको बताएका छन्। ‘हामीले उनीहरूको जहाज पूर्ण रूपमा नियन्त्रणमा लिएका छौं। र भित्र के छ भनेर पनि जाँच गरिरहेका छौं, ट्रम्पले भनेका छन्। यसैबीच सामाजिक सञ्जालमार्फत इरानी सेनाले यसको जवाफमा तुरुन्त कदम चाल्ने बताएको छ । इरानी सरकारी प्रसारक आईआरआईबीले यो घटनालाई राजमार्ग डकैतीको कार्यसँग तुलना गर्दै इरानी कमर्सियल जहाजलाई कब्जा गरेर युद्धविरामको उल्लंघन गरेको बताएको छ ।

अमेरिकाले जहाजको नेभिगेसनल उपकरण नष्ट गरेको र डेकमा सैनिक परिचालन गरी यसविरुद्ध आक्रामक कार्य गरेको इरानले बताएको छ । “हामी चेतावनी दिन्छौँ कि इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलहरूले यस अमेरिकी सशस्त्र समुद्री डकैतीको चाँडै जवाफ दिनेछन् र कडा बदला लिनेछन्,” सामाजिक सञ्जालमार्फत भनिएको छ ।

अमेरिकाले जहाज कब्जा गरेपछि मध्यपूर्वको तनाव अझै चुलिएको छ। यसले अस्थायी युद्धविराम नै संकटमा परेको भनेर रोयटर्सले लेखेको छ। तनावको मुख्य केन्द्र स्ट्रेट अफ हर्मुज क्षेत्रमा दुवै पक्षले नाकाबन्दी जारी राखेका छन्। विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यो मार्गमा अवरोध हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार