छोटी भन्सार खारेजविरुद्ध स्थानीय र व्यापारी आन्दोलित, हुलाकी मार्ग अवरुद्ध

२०८३ बैशाख २४, बिहीबार

सिरहा : सरकारले बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयवासी तथा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण हुलाकी मार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

सरकारले वैशाख २१ गते राजपत्रमार्फत बरियारपट्टी छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णय सार्वजनिक गरेपछि सीमावर्ती क्षेत्रका व्यवसायी र स्थानीयले त्यसको विरोध गरेका हुन् । उनीहरूले उक्त निर्णयले स्थानीय व्यापार, राजस्व संकलन तथा आर्थिक गतिविधिमा प्रतिकूल प्रभाव पार्ने बताएका छन् ।

आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका-३ स्थित बरियारपट्टी चोक क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । बिहानदेखि सडकको बीच भागमा अवरोध राखेर प्रदर्शन गरिएपछि हुलाकी मार्ग हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित बनेका छन् ।

सडक अवरोधका कारण पूर्व-पश्चिमतर्फ चल्ने सवारीसाधन लामो समयसम्म रोकिएको स्थानीय प्रशासनले जनाएको छ । प्रदर्शनकारीहरूले भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पाल ले आन्दोलनरत पक्षसँग संवाद र समन्वय भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार