काठमाडौँ : साफ महिला च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपालले जित निकालेको छ। सोमबार भारतको गोवामा भएको खेलमा नेपालले भुटानमाथि १-० गोलको जित निकालेको हो।
खेलको पहिलो हाफमा भएको गोल नै नेपालको जितको आधार बन्यो। खेलको २३औं मिनेटमा गीता रानाको प्रहार भुटानकी इडोनको खुट्टामा लागेर पोस्ट भित्र छिरेको थियो। दोस्रो हाफमा नेपालले गोल गर्न सकेन। नेपालले स्ट्राइकर सावित्रा भण्डारी साम्बा, सविता राना मगर र प्रिति राई बिना खेलेको थियो।
सम्बा र सविता घाइते छन् भने प्रिति आजको खेलमा बेन्चमा पनि थिइनन्। कम्बोडियाको लिग खेल्ने प्रिति नेपालको २३ सदस्यीय टोलीमा भने छिन्। समूहमा अब नेपालले दोस्रो तथा अन्तिम खेलमा मे ३१ मा श्रीलंकासँग खेल्नेछ।





