धनगढी : डडेल्धुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी जवानसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुवै जनाको शव महाकाली नदीमा फेला परेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले जानकारी दिए ।उनका अनुसार तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पट्ठे क्षेत्रमा फेला परेको हो भने सशस्त्र प्रहरी जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्र नजिक भारततर्फको महाकाली नदी किनारमा भेटिएको हो।
डीएसपी सिंहका अनुसार डडेल्धुरातर्फ फेला परेका थापा मगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ। शव परीक्षण प्रतिवेदन आएपछि मात्रै घटनाबारे यथार्थ तथ्य खुल्ने उनले बताए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिरेन्द्र थापाका अनुसार भारतीय भूमिमा शव फेला परेकाले भारतीय प्रहरीले घटनास्थलको आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफ्नो नियन्त्रणमा लिएको छ। अब भारतीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव परिवारलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनएको छ ।





