हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौँ : इरान र उसका सहयोगीहरूले रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। यससँगै अमेरिका र इरानबीच चलिरहेको कूटनीतिक संवादसमेत प्रभावित भएको छ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरानले हर्मुज जलमार्ग बन्द गर्दै यसको विकल्पका रूपमा बाब अल–मन्डेबसहित अन्य मार्गहरू सक्रिय गर्ने तयारी गरेको छ। यस निर्णयसँगै इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदानसमेत रोकेको उल्लेख गरिएको छ।

इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमा लेख्दै कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन हुनु सम्पूर्ण मोर्चामा युद्धविराम उल्लङ्घन सरह हुने टिप्पणी गरेका छन्। इरानले गाजा र लेबनानमा इजरायली सैन्य गतिविधि तत्काल रोक्नुपर्ने माग पूरा नभएसम्म वार्ता अघि नबढ्ने स्पष्ट पारेको छ।

विश्लेषकहरूका अनुसार विश्वको करिब एकतिहाइ तेल आपूर्ति हुने महत्वपूर्ण समुद्री मार्ग हर्मुजमा कुनै पनि अवरोध आएमा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो अस्थिरता सिर्जना हुन सक्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार