पार्टी नेतृत्व नछोड्ने अध्यक्ष ओलीको स्पष्ट सन्देश

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट सन्देश दिएका छन् । फागुन २१ गतेको निर्वाचनपछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिएका हुन्।

ओलीनिकट पदाधिकारीहरू उनको विकल्पको खोजीमा जुटिरहेका बेला केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका विभिन्न निकायप्रति असन्तुष्टि पोखे ।

जेनजी विद्रोहपछिको परिस्थिति आफूअनुकूल बनाउन हतारहतार पार्टी महाधिवेशन गरेका ओलीले अप्ठेरो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नबनेको स्पष्ट पारे । ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो। सजिलो पर्‍यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठेरो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर मलाई अध्यक्ष बनाउनु भएको त होइन,’ ओलीले पार्टीका अगुवा नेता–कार्यकर्तालाई भने, ‘कसैलाई आशंका हुन सक्छ । मैले बिचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो? त्यो आशंका मनमा नलिनु होला।’

अप्ठेरो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउने र सफलतामा पुर्‍याएर विश्राम लिने उनले बताए। ‘पार्टीलाई, आन्दोलनलाई, देशलाई चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प मेरो यथावत छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार