भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान र गौरव भएको बताएका छन् ।

शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको बताएका हुन् ।

‘यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्वपूर्ण योगदान दिएको हुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘साथै, साहित्यले समाजलाई जोड्ने, जागरूक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सामर्थ्य राख्दछ भन्ने मलाई लाग्दछ ।’

राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्‍याएको योगदानको स्मरण गरे । उनले भने, ‘नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणा स्रोतका रूपमा बुझ्न आवश्यक छ ।’

राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने युगकवि श्रेष्ठका कवितामध्ये उनको रचना ‘मेरो प्यारो ओखलढुंगा’ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गरे ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार