काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो ।
स्रोतका अनुसार खनाल जुन १४ (जेठ ३१ गते) तारिखमा चीन प्रस्थान गर्नेछन् । १५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ । त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा नेपाली डायस्पोरासँग अन्तर्क्रिया पनि गर्नेछन् । उनी १७ तारिखमा फर्किने कार्यक्रम रहेको छ । मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत भ्रमणको विषयमा केन्द्रित हुँदा चीन भ्रमणको तयारीबारे छलफल गर्न नपाएको बताए । ‘चिनियाँ साथीहरुसँग सम्पर्कमै छौँ । केही नयाँ आउनासाथ औपचारिक जानकारी दिने नै छौं,’ उनले भने ।





