काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका ‘अशिष्ट’ र ‘अपमानजनक’ शब्दप्रति आपत्ति जनाएको छ । रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै संसद्को गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गरिन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २१ (घ) अन्तर्गत नियमापत्ति गर्दै सांसद बास्कोटाले अशिष्ट, अश्लील र अपमानजनक शब्द प्रयोग गर्न नपाइने व्यवस्था स्मरण गराइन् । त्यो उपनियम अनुरूप ‘सदनको चीरहरण’ ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता शब्दहरू संसद्को मर्यादा विपरीत रहेकोले संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
सत्तापक्षका सांसदहरूलाई ‘मुर्दा लास’ को संज्ञा दिइएको प्रति आक्रोश पोख्दै बास्कोटाले भनिन्, ‘हामी यहाँ मुर्दा लास बन्न आएका होइनौँ, न त मुर्दा शान्ति रोज्न आएका हौँ। हामी कुन विषय बोल्ने र कुन नबोल्ने भन्नेमा सचेत छौँ र जिम्मेवार छौँ।’ उनले संसद् सत्तापक्ष वा प्रतिपक्षको मात्र नभई नागरिकको आवाज उठाउने साझा थलो भएको बताइन् ।
बास्कोटाले आफूहरू सदनको चीरहरण भएको हेर्न नभई ३५ वर्षदेखि बेथितिको बोझ बोकेर नागरिकको चीरहरण भएको चाहिँ हामी मेटाउन आएको बताइन् । सत्तापक्षका १८२ जना सांसदलाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक शब्दहरूले संसद्को अपमान गरेको भन्दै सांसद कठायतले ती शब्दहरू तत्काल संसद्को रेकर्डबाट हटाउन सभामुखसँग उनले माग गरिन् ।





