फौजी कीराले मकै बाली नष्ट भएपछि किसान चिन्तित

२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौं : फौजी कीराले मकैबालीमा क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तामा परेका छन् ।

विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ । फौजी कीराले पात, डाँठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका किसानहरू बताउँछन् । फौजी कीराले मकैको कोमल भागमा आक्रमण गर्ने गर्दछ ।

यसले सुरुमा पातमा स–साना प्वाल पार्दै खाने र मकैको गाभाभित्र पसेर भित्री भाग नै खाने गरेको पौवादुङमा–६ ठूलोदुम्माका किसान बलराम राईले बताए । “पानी नपरेर मकै राम्रोसँग बढ्न सकेन”, उनले भने, “त्यसमाथि फौजी कीराले झन् नोक्सान गर्‍यो । वर्षात् भएमा कीराको क्षति कम हुने थियो । खडेरीका कारण पनि बढी क्षति पुर्‍याएको अवस्था छ ।”

किसानहरूले समयमै नियन्त्रणका उपाय नअपनाइएमा अझ ठूलो क्षति हुनसक्ने भन्दै सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन् । प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिने काम भइरहेको पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार