भैरहवा : बुटवलबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपालमा कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका–१२ स्थित एक स्थानमा विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले छापा मारेको थियो।
घटनास्थलबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको छ। बरामद सामग्रीको परीक्षण तथा डिजिटल प्रमाण संकलन गरी थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानुनी घोषणा गरिसकेको अवस्थामा त्यससम्बन्धी गतिविधि गर्ने वा गराउनेमाथि कानुनी कारबाही हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।





