काठमाडौँ : सरकारले विधिको शासन र नागरिक सुरक्षालाई केन्द्रमा राख्दै गलत कार्यमा संलग्न कसैलाई पनि नछाड्ने कडा नीति अख्तियार गरेको छ।
बिहीबार विपद् व्यवस्थापन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री सुधन गुरुङले राज्यकोषको दुरुपयोग गर्ने, कानुन मिच्ने र अपराधमा संलग्न हुनेहरूलाई राजनीतिक आस्थाका आधारमा कुनै उन्मुक्ति नदिइने स्पष्ट पारेका छन्।
गृहमन्त्री गुरुङले सुरक्षा निकायहरूलाई नागरिक केन्द्रित सेवामा समर्पित हुन र अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्मका सबै क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिइसकेको जानकारी दिए।
‘सेवा नै हाम्रो धर्म हो, सुरक्षा निकायहरू नागरिकको सेवामा अहोरात्र खट्नुपर्छ,’ गृहमन्त्री गुरुङले दृढता व्यक्त गर्दै भने, ‘गलत गर्ने व्यक्ति आफ्नो पार्टीको होस् कि अर्काको पार्टीको, सरकारले त्यसलाई हेर्दैन। गलतलाई गलत नै भनिन्छ र कानुनी दायरामा ल्याइन्छ।’





