रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल

२०८३ असार ८, सोमबार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच आपसमा अत्यन्त राम्रो ट्रस्ट रहेको बताएका छन् ।

भरतपुरस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीमा रवि बालेन पक्ष भन्ने केही नरहेको बताए । ‘रवि–बालेन पक्ष भन्ने केही पनि छैन हाम्रो पार्टीमा । जे हुन्छ लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ’, उनले भने– ‘यदि बाहिर कुरा नमिलेको भए स्टेजमा पनि कुरा मिल्दैन । स्टेजमा मिलेर हामी नाटक मञ्चन गरेको त होइन ।’

उनले स्टेजमा जे भयो, बाहिर पनि त्यही भइरहेको भन्दै दुवै नेता महाधिवेशनमा कुनै पनि त्रुटि नहोस् भन्ने पक्षमा रहेको दाबी गरे । ‘सभापति र प्रधानमन्त्री पहिलो पटक ऐतिहासिक रूपमा भइरहेको महाधिवेशनमा कुनै पनि त्रुटि नहोस् भन्ने पक्षमा हुनुहुन्छ’, पोखरेलले भने, ‘हाम्रो पार्टीमा के कुरा स्पष्ट छ भने सभापति पनि एक जना । नत्र हामीले सभापति पनि दुई जना बनाउँथ्यौ होला ।’

उनले प्रधानमन्त्री पनि एक जनाले पाँचै वर्ष चलाउने कुरामा कुनै दुबिधा नभएको भन्दै त्यसमा सभापतिले प्रधानमन्त्रीजीलाई ट्रस्ट गरेको र सभापतिलाई पनि प्रधानमन्त्रीले ट्रस्ट गरेको बताए । ‘दुई जनाबिच जति पनि ट्रस्ट छ त्यो व्यवहारले देखाउँछ’, पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार