काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पैसा कमाउने ध्येय राखेर आफ्नो पार्टीमा नआउन निर्देशन दिएका छन् ।
कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोही पैसा कमाउने उद्देश्यले आएको भए पनि छाडेर गइहाल्न चेतावनी दिए । उनले भने, ‘पैसा कमाउने ध्येयले तपाईँहरू यहाँ आउनु भएको छ भने निस्केर गइहाल्नुस्, यो पैसा कमाउने ध्येय होइन । ५ लाखको बजेट ल्याउँछु अनि २ लाख गोजीमा हालेर ३ लाखको काम गर्छु भन्ने कसैले नसोच्नू ।’
उनले स्थानीय तहको चुनावको तयारीमा लाग्न पार्टीपङ्क्तिलाई निर्देशन दिए । उनले भने, ‘स्थानीय चुनाव आउन लागेको छ, पालिकातिर हामीले जित्नु पर्छ। हाम्रो उम्मेदवारले जित्नु पर्छ। जहाँ हाम्रो उम्मेदवारले जित्छ, त्यहाँ १० लाख रुपैयाँ बजेट छुट्यो भने १५ लाखको काम गर्छ । किनभने त्यहाँ श्रमदान पनि मिसिन्छ । श्रमदानबाट बनाएको कुराहरू टिकाउ हुन्छन् ।’





