काठमाडौं : विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले निर्वाचनमा जाँदा जनताको बीचमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनेर भनेको रास्वपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका र बेइमानी बाहेक अरू केही पनि नभएको बताएका हुन् ।
प्रमुख सचेतक दुलालले आफुहरुले गणतन्त्र विरुद्ध हुन कुनै पनि गतिविधिको डटेर सामना गर्ने चेतावनीसमेत दिए । उनले भने,‘निर्वाचनको क्रममा सत्तारुढ दलद्वारा मधेसमा, सुदूरपश्चिम, कर्णाली जस्ता विकासमा पछाडि परेका प्रदेशहरूमा गएर हामी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछौ भनेर मत मागेर आउने र अनि मत पाएपछि अहिले तिनै संरचना खारेज गर्ने नीति पारित गर्नु जनताप्रतिको बेइमानी र धोका हो ।
जसरी सुकुम्वासी बस्तीमा मत माग्दा जाँदा उचित व्यवस्थापन नभई छाती थाप्ने बाघ हुँकार भएको थियो । र तर सरकार बनेपछि सुकुम्वासी बस्तीमा चलेको डोजरको जवाफमा स्याल हुँकार सुन्नु प¥यो । जनताप्रति धोका, ढाँट छल । हामी गणतन्त्र विरुद्धको कुनै पनि गतिविधिको डटेर सामना गर्नेछौँ ।’





