काठमाडौं : गृहमन्त्री सुधन गुरूङले सार्वजनिक तथा निजी सवारीसाधनमा कालो सिसा (स्टिकर) प्रयोग गर्नेविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आफ्नै सरकारी सवारीसाधनबाट सुधारको सुरुवात गरेका छन् ।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले आफू र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सवारीसाधनमा जडान गरिएको कालो स्टिकर हटाउन निर्देशन दिएका हुन् । मन्त्री गुरूङको उपस्थिति र विशेष आग्रहमा ट्राफिक प्रहरीले उक्त सरकारी गाडीहरूबाट कालो स्टिकर निकालेको छ।
निरीक्षणका क्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले कालो सिसा हटाउने अभियानलाई पछिल्लो समय थप कडाइका साथ सञ्चालन गरिएको जानकारी दिए।
प्रहरीका अनुसार, सवारीसाधनमा कालो सिसाको प्रयोगले सुरक्षा संवेदनशीलता बढाउने र यसको आडमा साना हतियार, लागुऔषध तथा अवैध सुनको ओसारपसार हुने जोखिम रहन्छ। नियमको पालना सबैका लागि समान हुनुपर्छ भन्ने सन्देश दिँदै मन्त्री गुरूङले कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिन ट्राफिक प्रहरीलाई थप हौसला प्रदान गरेका छन्।





