काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको छ। आरक्षण वा समानुपातिक व्यवस्थामा निर्भर नभई अधिकांश महिला प्रत्यक्ष निर्वाचनबाट विजयी बनेपछि यसलाई नेपाली राजनीतिमा नयाँ उदाहरणका रूपमा हेरिएको छ।
नेपालको संसदीय राजनीतिमा प्रभावशाली दलमध्ये कुनै एकको केन्द्रीय समितिमा महिलाको बहुमत पुगेको यो पहिलो पटक मानिएको छ। यस उपलब्धिले राजनीतिक नेतृत्वमा महिलाको भूमिका र स्वीकार्यता थप मजबुत बन्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।
रास्वपाकी नवनिर्वाचित केन्द्रीय सदस्य विनीता कठायतले महिलाहरू यसपटक समानुपातिक कोटामा सीमित नरही प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएको बताइन्। उनका अनुसार महिलाहरूले एकताबद्ध रूपमा चुनावी अभियानमा सक्रिय सहभागिता जनाएका कारण यो परिणाम सम्भव भएको हो।
उनले विगतमा महिलालाई ‘सुरक्षित विकल्प’ भन्दै समानुपातिक प्रणालीतर्फ केन्द्रित गरिने प्रवृत्ति रहेको उल्लेख गर्दै यसपटक भने महिलाहरूले आफ्नै क्षमतामा विश्वास गरेर प्रत्यक्ष निर्वाचन रोजेको बताइन्। उनका अनुसार ५१ प्रतिशत महिला निर्वाचित हुनु पुरुषको कृपाभन्दा पनि महिलाहरूको निरन्तर मेहनत र संगठनभित्रको सक्रिय भूमिकाको परिणाम हो।
रास्वपाको यस उपलब्धिलाई अन्य राजनीतिक दलका नेतृहरू र राजनीतिक विश्लेषकहरूले पनि सकारात्मक रूपमा लिएका छन्। उनीहरूले महिलाको नेतृत्व विकासका लागि यो उदाहरण प्रेरणादायी भएको बताएका छन्।





