काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफूहरू अप्ठ्यारो परिस्थितिमा रहेको स्वीकार गर्दै पार्टी उठ्ने, प्रतिवाद गर्ने र प्रतिरोध गर्ने बताएका छन् ।
एमालेको पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । निर्जीव वस्तु कहिल्यै असजिलोमा नपर्ने उल्लेख गर्दै उनले भने, “हामी कठिनाइमा छौँ, यतिबेला कठिनाइमा छौँ । तर कठिनाइ जीवनमा आइपर्ने सामान्य कुरा हो । निर्जीव तत्त्वलाई कहिल्यै कठिनाइ हुँदैन ।” ओलीले भने, “हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौँ भन्ने हो । हामीले धक्का खाएका छौँ, पछारिएका पनि हौंला । तर हामी जीवित छौँ । हामी उठ्छौँ, प्रतिवाद गर्छौँ र प्रतिरोध पनि गर्छौँ ।”
उनले पार्टीमाथि पटक-पटक हमला भएको उल्लेख गर्दै यसबारे बुझ्न आग्रह गरे । “यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा भयानक र ठूलो गठजोढसहित हमला भयो,” ओलीले भने, “पार्टीले प्रगति गर्न खोज्दा नै यस्ता हमला भएको हो ।”





