काठमाडौँ : नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरिएको जनाएको छ। अध्यक्ष गुप्ताले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि मिति २०७९ असार २८ गतेसम्मको अवधिमा उनले तीन करोड ४५ लाख ९९ हजार १६७ रूपैयाँ ८४ पैसा अवैध आम्दानी गरेको पाइएको छ।
सो अवधिमा अध्यक्ष गुप्ता र उनको एकाघर परिवार/सगोलमा रहेको व्यक्तिहरूले उक्त अवधिमा विभिन्न आयका श्रोतहरूबाट कानुनी रुपमा तीन करोड ५१ लाख ५२ हजार ६२० रूपैयाँ ८८ पैसा आय आर्जन गरेको र सोही जाँच अवधिमा छ करोड ९७ लाख ८१ हजार ७८८ रूपैयाँ ७३ पैसा व्यय खर्च तथा लगानी समेत गरेको देखिन्छ।





