काठमाडौं : जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनस्वरूप घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख डा. दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई पक्राउ गरेको हो।
आयोगले सवारी चालक यादवलाई घुसस्वरूप लिएको रु ३३ हजार ३५० सहित नियन्त्रणमा लिएको जनाएको छ। साथै स्रोत नखुलेको रु ४८ हजार ७० समेत बरामद भएपछि जम्मा रु ८१ हजार ४२० नगद बरामद गरिएको छ।
यादवको साथबाट रु एक लाख २९ हजार बराबरका चार थान चेक र एक थान मोबाइल तथा डा. दासको साथबाट रु एक लाख २५ हजार बराबरको एक थान चेक र एक थान मोबाइलसमेत बरामद गरिएको आयोगले जनाएको छ।





