काठमाडौं : राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
आज बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई पारित गर्ने प्रस्ताव राखेकी थिइन् । जसलाई सभाले सम्मत रुपमा स्वीकार ग¥यो । त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखेका थिए ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखिन् ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने प्रस्ताव राखिन् । यी सबै विधेयकलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
यही असार २३ गते राष्ट्रिय सभाले यी चार वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । असार २४ गते एकै दिन चार वटा विधेयकमाथि दफावार छलफल सकाएर प्रतिवेदन लेखियो । बिहान प्रतिवेवदन हेरेर दिउँसो सभामा पेस भयो । र पारित भएर अगाडि बढेको हो ।





