काठमाडौं : नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई दशैंसम्म सरकार टिकाएर देखाउन चुनौती दिएका छन् ।
एल्गोरिदमले पनि बालेनलाई साथ दिन छाडेको उनको दाबी छ । आइतबार विमानस्थलबाहिर पत्रकार सम्मेलन गर्न नदिएपछि उनले घरमै बोलाएर आफ्ना धारणा राखेका थिए । भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रसाईंले सरकारको कार्यशैलीका कारण यो सरकार धेरै नटिक्ने दाबी गरेका हुन् ।
‘यिनीहरूलाई म चुनौती दिन चाहन्छु– दशैंसम्म हेर । तिमीहरू दशैंसम्म टिकाओ न सरकार । जुन बाटो आएका थियौ नि धुवा धुलो, आगोको लप्का, तिमीहरूलाई पनि पर्नेवाला त्यही छ । सिकाएको तिमीहरूले हो, गुरू त तिमीहरू नै हौ,’ प्रसाईंले भने, ‘अब धेरै दिन छैन । यो व्यवस्था नेपाल र नेपाली जनताका लागि फिजिबल छैन । यो व्यवस्थाले अलिअलि भएका मान्छेलाई झुन्डिएर मर्ने र शरीरमा आगो लगाउने बनायो ।’
प्रसाईंले प्रधानमन्त्री बालेनको लोकप्रियता खस्किसकेको र एल्गोरिदमले समेत साथ नदिएको दाबी गरे । ‘गाडीमा बालेनको फोटो टाँस्ने ड्राइभर के भन्दैछन् अहिले- एल्गोरिदमले पनि साथ दिन छाडिसक्यो,’ उनले भने ।





