काठमाडौँ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
राजमार्ग आज बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो। यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाएको थियो।
पहिरो हटाएर सडक सुरक्षित बनाएपछि आज बिहान ४ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।





