काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश निसासिएर ऐंठनको अवस्थामा पुगेको बताएका छन्। शुक्रबार पार्टीको वेबसाइटको नयाँ संस्करण सार्वजनिकीकरणमा अध्यक्ष ओलीले देश फासीवादउन्मुख भएको जिकिर गरेका हुन्।
‘समाजमा कानुन बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले नै गरेको छ। संसद्लगायत राज्यका तीनवटै अंग कार्यकारी नियन्त्रित छ,’ उनले भने। अध्यक्ष ओलीले सडकमा विरोधको आवाज उठाउनेहरूलाई सरकारले नै सिभिल ड्रेसमा मानिस पठाएर आक्रमण गर्न लगाउने तयारी गरेको आरोप लगाए।
एमाले अर्काको सहाराविना उठ्नै नसक्ने लहरो नभई आफ्नै बुतामा उभिएको स्वतन्त्र र विशाल वृक्ष भएको तर्क गर्दै उनले परिस्थितिसँग आत्तिने वा प्रतिकूलतामा निराश हुने पार्टी नभएको बताए।
वर्तमान समाजमा सत्यलाई तोडमोड गर्ने ‘महागोएबल्स शैली’ हाबी हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति तात्कालिक राजनीतिसँग मात्र नभएर सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको राणनीतिक विषय भएको उनको भनाइ थियो।
सूचना प्रविधिको प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अध्यक्ष ओलीले अब आफ्ना कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने बताए।





