बागमती सरकारबाट पनि एमाले बाहिरिँदै

२०८३ श्रावण ३, आईतवार

हेटौँडा : बागमती प्रदेश सरकारका सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिने तयारीमा जुटेको छ ।

तत्काल सरकार नछाड्ने रणनीतिमा रहेको भनिएको एमाले अन्ततः सोमबार सरकारबाट बाहिरिन लागेको हो । एमालेले सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने निर्णय भइसकेको र समर्थन फिर्ताको तयारी गरिएको जानकारी दिएका छन् । उनका अनुसार पार्टीको शीर्ष नेतृत्वको निर्देशनमा सरकारमा सहभागी ६ जना मन्त्रीलाई राजीनामा बुझाउन र समर्थन फिर्ता लिन निर्देशन दिइसकिएको छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण राजीनामा बुझाउन केही समय लागेको उनको भनाइ छ ।

मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारमा एमालेका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार