काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पुँजीबजार सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।
पुँजीबजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग सिंहदरबारमा सोमबार छलफल गर्दै उनले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजीबजारलाई विशेष प्राथमिकता दिएको बताएका हुन्।
उनले यस क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताए। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने पनि बताए।
छलफलमा पुँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिएका थिए। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेका छन्।
छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए।





