काठमाडौँ : भारतीय सङ्गीत क्षेत्रका चर्चित पार्श्वगायक सान नेपाल आउन लागेका छन्। आगामी भदौ ६ मा हुने सांगीतिक कार्यक्रमका लागि उनी नेपाल आउन लागेको जनाइएको छ। उनले नेपालकै ठूलो इन्डोर कार्यक्रमस्थल क्लब नोभामा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने भएका छन्। यस विशेष सांगीतिक कार्यक्रमको आयोजना तथा व्यवस्थापन ‘नेपाली टच नेपाल’ले गरेको हो।
कार्यक्रममा सानले ‘मुसु मुसु हाँसी देउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’, ‘चाँद सिफारिश’, ‘जब से तेरे नैना’, ‘तन्हा दिल’, ‘वो लड्की है कहाँ’, ‘सुनो ना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’ लगायत आफ्ना सर्वाधिक रुचाइएका गीतहरू प्रस्तुत गर्नेछन्। सानका यी गीतले भारतमा मात्रै नभएर नेपाली सङ्गीतप्रेमीमाझ पनि लोकप्रियता हासिल गरेका छन्।





