झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८३ श्रावण ६, बुधबार

झापा : नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन ४ गतेसम्म जिल्लामा कूल ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्षको यही अवधिको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ भएको छ । सुरुमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका छन् ।

“सुरुमा वर्षा नहुँदा रोपाइँ केही ढिलो भएको थियो । असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाभरि तीव्र रूपमा रोपाइँ भइरहेको छ । गतवर्षको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ”, प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार हाल जिल्लाको गौरीगञ्ज क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको छ ।

साउनको अन्त्यसम्म जिल्लाका अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुनेछ । झापामा प्रत्येक वर्ष करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार