काठमाडौँ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका सेना प्रमुख ओलेक्सान्डर सिर्स्कीलाई पदमुक्त गरेका छन्।
लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेडोरोभलाई हटाएको केही दिनमै जेलेन्स्कीले सैन्य नेतृत्वमा यो ठूलो हेरफेर गरेका हुन्। रक्षा मन्त्रालयलाई आधुनिकिकरण गरेको र भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्दै ३५ वर्षीय फेडोरोभको निकै प्रशंसा भइरहेको थियो। तर, फेडोरोभ र ६० वर्षीय सेना प्रमुख सिर्स्कीबीचको आन्तरिक द्वन्द्वका कारण पछिल्लो समय युक्रेनी राजनीतिमा तरंग पैदा भएको थियो।
सिर्स्कीलाई धेरैले सोभियत शैलीको कमाण्डरका रूपमा हेर्ने गरेका थिए, जो सेनामा आमूल परिवर्तन गर्न हिचकिचाउने गरेको आरोप लाग्दै आएको थियो। जेलेन्स्कीले सिर्स्कीको ठाउँमा ४३ वर्षीय जनरल मिखाइलो द्रापातीलाई नयाँ सेना प्रमुख नियुक्त गरेका छन्। द्रापाती एक युद्ध-अनुभवी र लोकप्रिय सैन्य कमान्डर मानिन्छन्।
आफ्नो नियुक्तिपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै द्रापातीले पूर्ण जिम्मेवारी र देशको रक्षा गर्नेहरूप्रति सम्मानका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सिर्सकीलाई युक्रेनी सेना बलियो बनाएकोमा धन्यवाद समेत दिएका छन्।





