काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसको अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट कोष स्थापना गरि घरबारविहीन तथा विस्थापित परिवार, विशेषगरी एकल महिला र विद्यालय जानबाट वञ्चित बालबालिकालाई सहयोग गरिने बताइएको छ।
बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको घोषणा गर्दै पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कबाट १० लाख रुपैयाँ जम्मा गरिएको जानकारी दिए। उनले आगामी दिनमा कोषको दायरा र रकम दुवै विस्तार गर्दै थप प्रभावकारी बनाइने बताए।
सभापति थापाले कोषको रकम आवश्यक परेका समुदायसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्याउन नेपाल महिला संघका स्वयंसेवकलाई प्रभावित बस्तीमा परिचालन गरिने जानकारी दिए। स्वयंसेवकहरूले स्थानीय आवश्यकताको पहिचान गरी सहयोग वितरणमा समन्वय गर्नेछन्। साथै, तरुण दलसहित इच्छुक अन्य स्वयंसेवी संस्थाहरूलाई पनि अभियानमा सहभागी हुन आह्वान गरिएको उनले बताए।
कार्यक्रममा बोल्दै थापाले ‘ग्रिन रन’ केवल दौड प्रतियोगिता नभई जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने अभियान भएको बताए । जलवायु परिवर्तनको असर नेपालमा बढ्दो चुनौतीका रूपमा देखिएकाले यसलाई विकासको प्रमुख एजेन्डा बनाउँदै नीति तथा कार्यक्रममार्फत अघि बढाइने उनले बताए।
उनले सामाजिक सेवासँगै वातावरण संरक्षणलाई पनि कांग्रेसको प्राथमिकतामा राखिने उल्लेख गर्दै प्राकृतिक विपद् र जलवायु परिवर्तनबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्ने दीर्घकालीन संयन्त्रका रूपमा ‘मानव सहायता कल्याण कोष’लाई विकास गरिने बताए।





