काठमाडौं : बितेका २४ घण्टामा देशका विभिन्न पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। प्रहरी केन्द्रीय समाचारकक्षका अनुसार स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा यी दुर्घटनाहरू भएका हुन्।
स्याङ्जाको वालिङ नगरपालिका-८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ-६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको छ। यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिका-८ बेरियाइमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सुरुङ्गा नगरपालिका-१ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको ज्यान गएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ झमसिङटारमा भएको ट्याक्टर दुर्घटनामा परी चालक सल्ल्यानको कपुरकोट गाउँपालिका-३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ।
यसैगरी, रौतहटको गुजरा नगरपालिका-९ सिमराभवानीपुर चोकमा अटो र भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा २२ वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
उता बाँकेको बैजनाथ गाउँपालिका-५ बाँसगढीबाट कोहलपुरतर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको छ। सबै दुर्घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।





