काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसले जनताका वास्तविक समस्या र मुद्दालाई आफ्नो एजेन्डाको केन्द्रमा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहमा बोल्दै उनले पार्टीले समयअनुसार आफ्ना एजेन्डा र अभियानलाई परिमार्जन गर्न आवश्यक रहेको बताए।
उनले बीपी कोइरालाले राजनीतिक दलले जनताका मुद्दालाई कसरी आत्मसात् गर्न सक्छ भन्ने उदाहरण नेपाली कांग्रेसमार्फत प्रस्तुत गरेको उल्लेख गर्दै अहिले पनि त्यसैको आत्मसमीक्षा आवश्यक रहेको बताए ।
पौडेलले भने, ‘बीपी कोइरालाले एउटा राजनीतिक दलले जनताका मुद्दाहरूलाई कसरी समेट्न सक्छ भन्ने कुरा नेपाली कांग्रेसको एजेन्डामार्फत देखाउनुभएको थियो। हामीले स्वीकार्नुपर्छ, एजेन्डागत रूपमा भुइँमान्छेका समस्यालाई आज पनि त्यही ढंगले पार्टीमा जोड्न सकेका छौं कि छैनौं भन्ने गम्भीर समीक्षा गर्न आवश्यक छ।’
उनले अहिलेको परिस्थिति विगतभन्दा फरक भइसकेको भन्दै विषयवस्तु परिवर्तन भएकाले पार्टीको संकल्प र अभियान पनि नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
‘परिस्थिति फेरिएको छ, नयाँ परिस्थिति सिर्जना भएको छ। विषयवस्तुहरू पनि फेरिएका छन्। त्यसकारण हामीले संकल्प पनि नयाँ गर्नुपर्ने स्थिति छ। अभियान पनि नयाँ ढंगबाट चलाउनुपर्ने अवस्था छ,’ उनले भने। महामन्त्री पौडेलले नेपाली कांग्रेसले भुइँमान्छेका समस्या र सबै नेपालीका सरोकारलाई आफ्नो एजेन्डाका रूपमा अघि सार्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘आजको दिनमा हामी संकल्प गर्न चाहन्छौं, भुइँमान्छेका समस्या र तमाम नेपालीका समस्यालाई नेपाली कांग्रेसले आफ्नो एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ। बीपी कोइरालाले जनताको पार्टीका रूपमा जसरी कांग्रेसको नेतृत्व गर्नुभयो, हामी पनि त्यसरी नै कांग्रेसलाई जनताको पार्टीका रूपमा स्थापित गर्ने स्थिति बनाउन चाहन्छौं।’





