काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापासहित ७ जना तथा निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी, बानेश्वर, काठमाडौंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्लाहीकाे बागमती नगरपालिका–११, सर्लाहीस्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
आयोगका अनुसार बागमती नगरपालिका, सर्लाहीले आर्थिक वर्ष २०७८/०७९ मा बागमती फनपार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरण निर्माणका लागि नयाँ डीपीआर तयार गरी मूल डीपीआरमा नभएका संरचना समावेश गर्दै लागत अनुमान बढाएको, प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कनका आधार तयार गरेको तथा सीमित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको आरोप छ।






