काठमाडौँ : शिक्षामन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा दिन सरकारको निर्णयमा पुनर्विचार नहुने बताएका छन्। आज मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै दुई दिनको बिदा कायमै रहने बताए।
सरकारका प्रवक्ता समेत रहेका पोखरेलले भने, ‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्न आग्रह गरेका छौँ। उक्त निर्णयमा कुनै पुनर्विचार हुँदैन।’
उनले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने समेत प्रस्ट पारे। तीन प्रतिशत समता शिक्षा शुल्कमा सरकार पछि हटेपनि धरौटीको व्यवस्थाबाट सरकार ब्याक नहुने उनको भनाइ छ।
विद्यालय शिक्षा ऐनजस्ता कानुन निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्वपरामर्श गरिने समेत बताए।
विश्वविद्यालयलाई स्वायत्त र दलीय प्रभावमुक्त बनाउन नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो सोच पत्रसहित अघि बढ्न आग्रह गरेको समेत जानकारी गराए।





