काठमाडौँ : देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडित किसानहरूले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन आइतबार काठमाडौँमा ‘राजधानी मार्च’ आयोजना गरेका छन्।
बल्खुबाट सुरु भएको मार्च भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो। सभामार्फत सहभागीहरूले आफ्ना मागहरू सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए।
मार्चमा विभिन्न उमेर समूहका व्यक्तिहरू सहभागी भएका थिए। काखे शिशु बोकेका आमा, स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिलगायत विभिन्न जिल्लाबाट आएका पीडितहरू पनि आन्दोलनमा सहभागी बनेका थिए।
लघुवित्तसम्बन्धी आफ्ना समस्या र मागलाई राज्यका सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले राजधानी केन्द्रित आन्दोलन जारी राखिएको सहभागीहरूले बताएका छन्।





