होर्मुजमा समुद्री माइनसँग तेल ट्यांकर ठोक्कियो

२०८३ श्रावण ११, सोमबार

काठमाडौं : होर्मुज जलमार्गमा तेल ट्यांकर समुद्री माइनसँग ठोक्किँदा आगलागी भएको छ ।

इरानको सरकारी समाचार संस्था तास्निमका अनुसार ट्यांकर इरानले तोकेको समुद्री मार्गभन्दा बाहिरबाट यात्रा गरिरहेका बेला माइनसँग ठोक्किएको हो । इरानको अर्ध–सरकारी मेहर समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै जहाज निर्धारित समुद्री मार्गबाट विचलित भएपछि माइनसँग ठोक्किएको जनाएको छ ।

इरानले जुन २६ मा होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै व्यापारिक जहाजले आफ्ना सुरक्षा निकायले तोकेको समुद्री मार्ग मात्र प्रयोग गर्नुपर्ने चेतावनी दिएको थियो । इरानले यसअघि पनि तोकिएको जलमार्गभन्दा बाहिर यात्रा गर्ने जहाजले त्यसबाट उत्पन्न हुने जोखिमको जिम्मेवारी आफैँ वहन गर्नुपर्ने चेतावनी दिँदै आएको थियो ।

यद्यपि, घटनाबारे इरानी अधिकारीहरूले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । जहाजको परिचय, आगलागीबाट भएको क्षति तथा सम्भावित मानवीय क्षतिबारे पनि कुनै पुष्टि भएको छैन ।

अमेरिका र इरानबीच फेब्रुअरीमा युद्ध सुरु भएपछि कुनै व्यापारिक जहाज समुद्री माइनसँग ठोक्किएको यो पहिलो घटना हो । युद्धका क्रममा इरानले होर्मुज जलमार्गमा समुद्री माइनहरू बिछ्याएको थियो । युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती माइन हटाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार