काठमाडौं : नेपाल मजदुर किसान पार्टीको आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर बनाइएको भारतीय नक्साको विरोधमा आइतबार राजधानीमा जुलुस र सभा भएको छ ।
विरोध जुलुस तथा सभामा सहभागीहरुले ‘नेपाली लेन्डुपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔं, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गरलगायतका नारा लगाएका थिए ।
सभामा पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापतिले नागरिकता जस्तो संवेदनशील विषयलाई जथाभाबी वितरण गर्नु भनेको नेपाललाई फिजीकरणको बाटोमा अगाडि बढाउनु भएको बताए । नागरिकता विधेयक पारित गर्ने शासक दलहरुलाई लेन्डुप दोर्जेका नयाँ अवतार भएको उनको कथन थियो ।
प्रमाणीकरण गरेको नागरिकता विधेयकमा अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरुषसित विवाह गरेका महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैरआवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बुँदा आपत्तिजनक र गम्भीर प्रकृतिको भएको उनले बताए । यस्तो असंवैधानिक कदमको विरुद्ध देशभक्त जनताहरू एक हुनुपर्ने आवश्यकता उनले औंल्याए ।
सभा अघि माइतीघर र कोटेश्वर दुई ठाउँंबाट जुलुस सुरु भएको थियो । दुवै ठाउँंको जुलुस नयाँ बानेश्वरमा पुगी सभामा परिणत भएको थियो ।





