काठमाडौँ : माननीय सदस्यहरूले तँ आस्तिक होस् कि नास्तिक होस ? भनेर पनि कुरा उठाउनुभयो । म सिद्धान्त त प्रस्ट धर्मनिरपेक्षवादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ, राज्यले कुनै धर्मलाई नजिक र कुनैलाई टाढा बनाउनुहुँदैन भन्ने पक्षको हुँ म । यो कुरा प्रस्ट होस् । त्यस कारण मैले भनेको छु –जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म सम्प्रदायको जनतामा पनि उनीहरूको आस्थालाई अपमान हुने काम पार्टी र नेताहरू र राजनीतिज्ञहरूले गर्नुहुँदैन भन्ने मान्यतामा पनि म दृढ छु ।
अहिले उज्जैनमा गएर महाकालेश्वरमा पूजा गरेको त माननीय सदस्यहरूले पनि देख्नुभयो, दुनियाँले देख्यो । तर म बुद्धिस्टकोमा गएर बुद्धप्रति आफ्नोतर्फबाट प्रस्तुत गरेका आस्था, सम्मान र गतिविधिहरू पनि देख्नुभएकै छ । मुस्लिमहरूले आयोजना गर्ने कार्यक्रममा मुस्लिम टोपी लगाएर मुस्लिम समुदायप्रति व्यक्त गरेको सम्मान पनि यहाँहरूले देख्नुभएकै छ । अन्य धर्म सम्प्रदायको जनताको आस्थालाई सम्मान गरेको छु । अव उज्जैन गइयो, महाकालेश्वर त्यहाँको साँच्चै ऐतिहासिक, धार्मिक स्थल रहेछ । एकै दिनमा एक डेढलासम्म पर्यटक जाने र भव्य संरचना रहेछ ।
मैले त ठानेँ एकपटक हेर्नुपर्ने रहेछ, हाम्रो पशुपतिजस्तै । अरु हाम्रा पाथीभरादेखि बडिमालिकासम्म धार्मिक पर्यटनका लागि हामी सबैले कोसिस गर्दैछौँ नि ! रामायण सर्किट, बुद्धिस्ट सर्किट अनि बडिमालिका मानसखण्ड सर्किट, के–के हामी भन्दै छौँ । र, सरकार हुनुको नाता र प्रधानमन्त्रीको नाताले मैले फेरि धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ भन्ने बुझाइबाट गएको हो । म पुरै बदलिएर, के के भयो ? अर्कै भन्ने पनि होइन । म पहिला पनि गएको छु ।





