गोरखा : तालिमका सहभागीहरूले बनाएको मूर्ति आन्तरिक तथा बाह्य पर्यटक, अतिथिलगायतलाई मायाको चिनोका रूपमा प्रयोग हुने नगर प्रमुख रानामगरले बताए । यसले गोरखाको ऐतिहासिक पहिचानको पनि प्रवर्द्धन हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा उत्पादन गर्न सके यसले आर्थिक आयआर्जनमा टेवा पुग्ने भएकाले महिलालाई मूर्ति बनाउन तालिम प्रदान गरेको उनले बताए ।
गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायताका तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि एक महिने आधारभूत मूर्ति बनाउने तालिममा सहभागी भएकालाई दोस्रो चरणमा थप एक महिना ‘एड्भान्स’ तालिम प्रदान गरिएको उनले बताए ।
गोरखा आएर फर्कने पर्यटकले यहाँ घुमेर फर्कदै गर्दा गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिमको आयोजना गरिएको नगर प्रमुख रानामगरले जानकारी दिए ।
तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको जनाउँदै नगर प्रमुख रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मानिर्भर समेत बनाउने बताए । तालिममा सहभागीलाई मूर्तिका साथै मूर्तिका लागि आवश्यक पर्ने साथै ऐन र फ्रेम बनाउनका सिकाइएको उनले बताए ।
तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजना गरेको थियो । शनिबार सम्पन्न भएको तालिमको समापन कार्यक्रममा नगर प्रमुख रानामगरसहित उपप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रशिक्षार्थी रमा बस्नेतलगायतको सहभागिता रहेको थियो । रासस





