२०८४ मा कसैसँग तालमेल नगरी एकल बहुमत ल्याउने योजनामा छौं : एमाले महासचिव

२०८० जेष्ठ २८, आईतवार

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८४ को चुनावमा कसैसँग तालमेल, सहकार्य नगरी पार्टीले एकल बहुमत ल्याउने तयारी थालेको बताएका छन्। केन्द्रीय कमिटी र सचिवालय बैठकको निचोड बताउँदै उनले मिसन २०८४ अनुरूप पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने लक्ष्य रहेको बताएका हुन्।

‘केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि बढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ। त्यसले जिल्ला बाहिरवाट जानुहुने इन्चार्जलाई काममा अनुकूलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरूाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने सन्दर्भमा योजना बनेको छ। अब यथाशीघ्र तोकिएअनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्छ,’ उनले भनेका छन्।

जनसंगठनको समन्वयका लागि प्रदेश तहमा समेत केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा विस्तृत योजना बनेको उनले बताए। विभागका प्रमुखहरूको बैठकले असार मसान्तसम्म वार्षिक कार्ययोजना तयार गर्ने निर्णय भएको उनले बताए।

‘एक वर्षका लागि तय गरिएको यो विशेष कार्ययोजना र कार्य विभाजनको विशेष अर्थ र महत्त्व रहेको छ। पार्टी निर्णय र निर्देशन अनुरूप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रूपमा सम्पादन गर्न अनुरोध छ,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार