संखुवासभा : सुक्खा लागेर पानीको मुहान सुकेपछि खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण थालेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढाको सभाखोलाको पानी दुई दमकल एवं साना पानी ट्यांकरमा भरेर शुक्रबारदेखि बजारवासीलाई वितरण थालिएको हो । नगर प्रमुख महेश थपलियाका अनुसार टोलटोलमा लगेर बाँडिँदै छ ।
नगरपालिकाले खाँदबारीस्थित सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन गरिरहेको छ । ‘दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा पुर्याउन थालिएको छ,’ उनले भने । खाँदबारीमा ल्याइएको पानीका मुहान सुकेकाले नगर क्षेत्रमा चरम अभाव भएको हो । दमकलबाट भए पनि पानी वितरण सुरु भएपछि नगरवासीलाई केही राहत महसुस भएको छ ।
नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३ हजार ५ सय उपभोक्ता छन् । वितरण सहज हुँदा दैनिक ६ लाख लिटर पानी चाहिन्छ । दमकल र ट्यांकरबाट थालिएको वितरणमा पालो मिलाएर एक परिवारलाई करिब ३५ लिटर पानी दिने गरिएको छ । वितरणको अस्थायी उपायले पार नलाग्ने आकलन भइरहँदा ट्यांकीमा ल्याएर जम्मा गर्ने र पालो मिलाएर धाराबाटै आपूर्ति सहज बनाउन उपायमा पनि काम भइरहेको नगर प्रमुख थपलियाले बताए ।
स्थानीय होटल व्यवसायी फडीन्द्र श्रेष्ठ वितरणको यो अस्थायी प्रयासले नगरवासीको दैनिक जीवन केही सहज भएको बताउँछन् । ‘धारामा पानी नआएको एक महिना भयो,’ उनले भने, ‘पानी नआउँदा बोकेर होटल चलाउने कुरा त भएन, धेरै समस्या थियो ।’
पानी अभाव भएपछि स्थानीयले सभाखोलाको धमिलो पानी एक रुपैयाँ लिटरमा किनेर दैनिकी धानिरहेका थिए । ‘जेठमा धारामा पानी २ पटक मात्र आयो,’ उनले भने,‘दैनिक पानी किनेर खाजाघर चलाउन परिरहेको छ ।’ गर्मीको समय भएकाले पानीको खपत धेरै हुने गरेको श्रेष्ठले बताए । ‘खोलाको पानी ल्याएर होटल चलाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘शौचालय जानलाई समेत पर्याप्त पानी छैन ।’
नगरमा आपूर्ति गर्ने स्रोत सुकेकाले पानी वितरण गर्न नसकेको खाँदबारी साना सहरी खानेपानी उपभोक्ता समितिले जनाउँदै आएको छ । समितिका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठका अनुसार खाँदबारी ल्याइएका पानीका मूल सुक्खायामका कारण सुकेको हो ।
‘खडेरीले मूल सुकेको छ,’ उनले भने, ‘खाँदबारीका पानीट्यांकी खाली छन् ।’ ट्यांकीमा थोरथोरै संकलन गरेर उपभोक्तालाई हरेक साता एक पटक पानी दिने गरेको उनले बताए । ‘हामीले टोल–टोल छुट्याएर सातामा एक पटक भए पनि पानी दिने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘यो पटक जेठमा पनि खडेरी लागेको छ । वर्षा लाग्नासाथ पानीको समस्या नहुने उनले बताए ।





