काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १८ मध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।
यो प्रकरणमा पक्राउ परेका हाइप्रोपाइलमध्ये एमाले नेता, सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका सबै पद खुस्किए पनि पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाणबारे कांग्रेस नेतृत्व अहिलेसम्म चुप छ। रायमाझीलाई पुर्पक्षका लागि थुना पठाइएपछि सांसद पद स्वतः निलम्बनमा परेको छ भने एमालेले सचिवबाट निलम्बित गरिसकेको छ।
सांसद नभए पनि कांग्रेस केन्द्रीय सदस्य खाणको पदीय हैसियतमाथि भने नैतिक प्रश्न उठेको छ। खाणमाथि नक्कली शरणार्थी प्रकरणको आक्षेप लागेकै बेला उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज पार्टीभित्र उठे पनि सभापति शेरबहादुर देउवाले टेरपुच्छर लगाएनन्। खाण देउवाका दाहिना हात मानिन्छन्।
नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ। एमाले सचिव रायमाझी वैशाखमै पदबाट निलम्बन परेका थिए।
बालकृष्ण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेलगत्तै २७ र २८ वैशाखमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्माहरुले अनुसन्धानलाई सहयोगी बनाइदिन र पार्टीको छवि जोगाउन खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखे पनि सभापति देउवाले इन्कार गरेका थिए।





