आन्तरिक राजस्वमा सुधार, विगतकै हाराहारीमा पुग्यो

२०८० असार ३, आईतवार

काठमाडौँ : अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ ।

आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिको तुलनामा यो एक अर्ब ७८ करोड रुपैयाँले मात्र न्यून हो । २०७९ जेठसम्म  चार  खर्ब  १०  अर्ब  ४३  करोड  रुपैयाँ  राजस्व सङ्कलन भएको थियो । 

ब्याज करमा भएको वृद्धिका  कारण  आन्तरिक  राजस्व  सङ्कलनमा  सुधार आएको विभागको तथ्याङ्कले देखाउँछ । एक वर्षको अन्तरमा ब्याज करमा आठ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिन्छ । २०७९ जेठसम्म २३ अर्ब ३७ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएकामा चालु आर्वको सोही महिनासम्म ३१ अर्ब ४४ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार आयकर भने गत आवको तुलनामा घटेको छ । गत जेठसम्म एक खर्ब ८२ अर्ब २३ करोड रुपैयाँ आयकर सङ्कलन भएकामा चालु आवमा भने एक खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । -गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार