काठमाडौं : दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्य दक्षिणकाली पनि एक हुन् । उनले आसन लिने क्रममा शिखरापुर नगरको शिरोभाग अर्थात नगरचो डाँडा (शेषनारायणको शिरमा रहेको गोरखनाथ माथिको डाँडामा) विराजमान भएकी हुन् । जङ्गलको मध्य भागमा शिलामा बिराजमान भएकी दक्षिणकालीको बारेमा कसैलाई पनि जानकारी नभई पुजाआजा समेत भएको थिएन ।
त्यसै समयमा १८२५ तिर प्रताप मल्ललाई राति सपनामा दक्षिणकालीले आफू दक्षिणकाली भएको र फर्पिङ देखि माथि नगरचो डाँडामा शिलामा बिराजमान भएको बताईन् । सपनामा त्यति देखाएतापनि राजाले त्यति ख्याल नदिएकाले दरवारकै पञ्चकन्या मध्य एउटी कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बताएकी हुन् ।
यति थाहा पाए पछि राजा प्रताप मल्लद्वारा तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको स्थानमा आई विधि पूर्वक पूजा गराईयो । त्यसपछि भूषाकर्ण नामक दुई राक्षस उत्पन्न गराई राजाको सपना अनुसार गर्न आदेश दिए । उनको सपना अनुसार दक्षिणकाली र उनको गण सहित एक रातमा बोकी त्यहाँ देखि दक्षिण तर्फको दुई नदिको शिरोभागमा अर्थात हालको दक्षिणकाली माताको मन्दिर भएको स्थानमा उक्त शिला नै स्थापना गरियो ।
त्यसै क्रममा कुमारीलाई हालको कुमारी मन्दिर भएको स्थानमा स्थापना गरियो । गणेशलाई भने लैजाने क्रममा विहानको भाले बासेपछि पौचो डाँडामा बिसाएर सोही ठाउँमा सिद्ध गराईएको किम्बदन्तिहरुमा पाईन्छ । दक्षिणकालीको उक्त मन्दिर पनि जङ्गलको बिचमा, डाँडाको टुप्पोमा गुफा भित्र राखिएकाले उक्त स्थलमा मानिसहरु नजाने र गएका मानिसहरु पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने जनश्रुति पाईयो ।
त्यस पश्चात प्रताप मल्लले नै गुरु लम्वकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक बिधिद्वारा निष्तेज गर्न लगाई हालको दक्षिणकाली माताको शिलामूनि घोप्टो पारी माथि पट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरव समेत राखी स्थापना गराईयो । त्यसपछि प्रताप मल्लले चामुण्डाको (दक्षिणकालीको) सेतो संहमरमरको मूर्ति बनाउन लगाएका थिए । उक्त मूर्तिमा प्राण प्रतिष्ठा पछि निकै नै शक्तिशालि हुने तान्त्रिकहरुले बताए ।
त्यसपछि राजा प्रताप मल्लले आफ्नै दरवारको चोकमा रहेको एउटा कोठामा थुनि बाहिरवाट दुईवटा ठूल्ठूला सिंहहरु स्थापना गराई राखे । राजाले पुन कालो पथ्थरको मूर्ति बनाउन लगाई पूर्णवति गंगा र उद्धारवति गंगाको दोभानमा स्थापना गराएका थिए । त्यहाँ उनले अष्ट मात्रिका सहित पुजाआजा चडाउँदै आए । त्यस पछि बिस्तारै भक्तजनहरु पुजाआजा गर्न जाने क्रम बड्दै गयो ।
साक्षात दक्षिणकाली शक्तिकी देवी भएकाले नेपाल, भारत लगाएत बिभिन्न देशहरुवाट हिन्दु धर्मावलम्बीहरु यस मन्दिरमा आएर पुजाआजा गर्छन् । आफूले चिताएको काम पुरा हुने भएका कारण हालका दिनहरुमा हजारौं दर्शनार्थीहरुको भिड लाग्ने गरेको मन्दिरको पुजारी बताउनु हुन्छ ।
दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ।यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ ।मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्।





