काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको सांसद प्रभु साहले बताएका छन् । आम जनता पार्टीका अध्यक्षसमेत रहेका सांसद साहले ऊर्जा क्षेत्रका लागि छुट्याइएको रकम कहाँ खर्च गर्ने भन्ने स्पष्ट योजना नेपाल विद्युत् प्राधिकरणसँग नरहेको पनि बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद साहले बजेटको रातो पुस्तकमा स्पष्टसँग विद्युत् प्राधिकरणअन्तर्गत हुने खर्च नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए ।
‘विद्युत् प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जवाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत् प्राधिकरण जनताप्रति जवाफदेही छैन,’ उनले भने । सभामुखले मन्त्रालयगत विनियोजन पुस्तक फर्काइदिनुपर्ने उनको भनाइ थियो ।
‘ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन, कहाँ, के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झन्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति-कति लाख भनेर छापेर जनतालाई झुक्याउने ?,’ उनले भने, ‘दुनियाँको चासो रहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षकअनुसार गतिविधि सांसदहरूले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत प्रसारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेसन बढाउँदै हुनुहुन्छ ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरू ? उनले भने ।
प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको पनि साहको भनाइ थियो । प्राधिकरणले व्यापारिक घरानाहरूलाई सेवा गरेको तर गाउँघरमा विद्युत् प्रसारण गर्न नसकेको उनको आरोप थियो ।





