काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।
अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका शायन जहानगिरले शतक प्रहार गरे। एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका उनले १०० रन जोड्ने क्रममा ७९ बलमा १० चौका र ३ छक्का हिर्काए।
अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भए। चारै जनालाई करण केसीले आउट गर्दै सुरुवाती चार विकेट लिएर नेपाललाई उत्कृष्ट सुरूवात दिए। आठ ओभर चल्दै गर्दा अमेरिकाले चार विकेट गुमाउदा १८ रन जोडेको थियो।
गजानन्द सिंह २६ रन बनाएर आउट भए भने ओपनिङ ब्याटर सुशान्त मोदानी ४२ रन जोडेर। निशर्ग पटेलले ८ रन मात्र जोड्न सके। जेसी सिंह १२ रन र शौरभ नेत्रभाल्कर ४ रनमा आउट भए।
बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। केसीले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन खर्चिए।
गुल्सन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे। गुल्सनले १० ओभरमा ५२ रन र ५ ओभरमा १५ रन खर्चिए।
ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।





