काठमाडौं : भारतमा ‘आदिपुरुष’ विवाद तत्काल रोकिने सम्भावना छैन । निर्माताले संवादमा परिवर्तन गरेको बताएपनि संवाद लेखक तथा गीतकार मनोज मुन्ताशिरदेखि निर्देशक ओम राउत विवादमा मुछिएका छन् । अवस्था यस्तो छ कि मुन्तासिरपछि अब निर्देशक राउतलाई पनि जनताको धार्मिक भावनामा चोट पुर्याएको भन्दै ज्यान मार्ने धम्की आउन थालेको छ ।
ज्यान मार्ने धम्की आएपछि राउतले प्रहरीसँग सहयोग मागेपछि उनलाई प्रहरी सुरक्षा दिएको बलिउड हंगामाले जनाएको छ । स्रोतलाई उध्दृत गर्दै उक्त पोर्टलले लेखेको छ, ‘राउतको कार्यालयमा चार जना हवल्दार र एक हतियारधारी प्रहरी साथमा छन् । तर, विवाद र धम्कीका कारण निर्देशकले प्रहरी सुरक्षा मागेका हुन् वा प्रहरीले नै सुरक्षा दिएका हुन् भन्ने खुल्न सकेको छैन । मनोज मुन्तासिरसँगै ओम राउतलाई पनि ज्यान मार्ने धम्की आएको बताइएको छ ।’





